ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना
आश्विन २१, २०७७ | ताप्लेजुङ
चीनसँगको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट (बीओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुधबार सो बीओपीको उद्घाटन गर्नुभयो ।
नेपाल–चीनको सिमाना टिप्ताला भञ्ज्याङ नजिकै मौवाटारमा राख्ने बीओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोलामा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाँईले बताउनुभयो ।
भवन सहितको संरचना बनेपछि गोलाबाट स्थानान्तरण हुनेछ । ओलाङचुङगोलाबाट टिप्ताला भञ्ज्याङ २१ किलोमिटर दूरीमा रहेको छ भने मौवाटार १३ किलोमिटर दूरीमा छ । शेर्पा समुदायको चौरी चरनको क्षेत्रको रुपमा रहेको मौवाटारमा अहिले सामान्य गोठ बाहेक कुनै पनि संरचना छैन ।
बीओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले बताउनुभयो । गोलामा प्रहरी निरीक्षक (इनस्पेक्टर) नेतृत्वमा २१ जना प्रहरीको टोली बस्ने भएको छ । ३५ जनाको दरबन्दी भएपनि तत्कालका लागि २१ जना मात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ ।
उद्घघाटन कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायत टोली हेलिकप्टरबाट गएको थियो । यसअघि भातरसँगको सिमावर्ती पाँचथरको चिवाभञ्ज्याङ लगायत स्थानमा बीओपी स्थापना भएको छ ।