प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा नन्दनवनदेखि मिथिला दर्शनसम्म

माघ १९, २०७७ | जनकपुर

आफ्ना विरोधी नेतामाथि तिखो शब्दवाण प्रहार गर्न खप्पिस प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धनुषाको ढल्केवरमा आयोजित सभामा दार्शनिकको रुपमा प्रस्तुत हुनुभयो । आफ्नो अभिव्यक्तिको क्रममा उहाँले स्वर्गको नन्दनवनको बखान अनि मिथिला सभ्यता र संस्कृतिको महानताको मुक्तकण्ठले प्रंशसा गर्नुभयो । 

नेपाल विद्युत प्राधिकरणद्वारा ढल्केवरमा निर्मित ४ सय र २२०/१३२ केभी सव–स्टेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आरम्भमा सरकारको कामकाजको फेहरिस्त सुनाउनुभयो । मध्यमा स्वर्गको नन्दनवन तथा मिथिला सभ्यता र संस्कृतिको महानता बखान गर्दै अन्तमा आफ्ना पूर्व सहकर्मीबारे कटाक्षपूर्ण अभिव्यक्ति दिनुभयो । 

चुरे भेदमा आयोजित आमसभाबाट चुरेको हरियो डाँडा प्रष्टै देखिएको थियो । यस डाँडाले प्रधानमन्त्रीलाई मोहित बनायो । उहाँले यी र यस्ता हरिया डाँडाहरुमा मौसमी फलफूलको खेती गर्न सुझाउनुभयो । पर्यटकीय स्थलको रुपमा विकास गर्न अपिल गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यस वनलाई बागवानी बनाऔं । स्वर्गको नन्दनवन बनाऔं । जहाँ फूल फूलि राख्या छ । मगमग वास्ना आई राख्या छ । भवराहरु, पुतलीहरु, मौरीहरु उडिरहेका छन् । अनि पर्यटकहरुको ओइरो छ ।’ ढल्केवर मिथिला नगरपालिको मुकाम हो । 

प्रधानमन्त्री ओलीले ढल्केवरलाई साच्चैको मिथिलानगर बनाउन अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब ढल्केवर होईन, मिथिलानगर बनाऔं । पुरानो विद्वताको गौरव, पुरानो विदेह सभ्यताको गौरव, पुरानो अष्टावक्र दर्शनको गौरव, पुरानो महर्षि जनकको समयको गौरवको रुपमा विकसित गरौं ।’ 

पत्रकार तथा सामाजिक सञ्जालमा लेख्नेहरुप्रति आक्रोशित देखिएका प्रधानमन्त्री ओलीले आफूले गरेको पशुपतिनाथ दर्शन तथा १ सय १ किलोको सुनको जलहरी लगाउने घोषणालाई पटकपटक दोहोर्‍याउनुभयो ।

‘पशुपतिनाथ हिन्दूहरुको अराध्यदेव हो । त्यहाँ मैले १०१ किलोको सुनको जलहारी हाल्ने भएँ । अनि सुनको जलाडी हाल्दैमा कसरी परम्परा बिग्रियो ? कसरी संस्कृतिमाथि प्रहार भयो ?’ उहाँले भन्नुभयो, ‘चाँदीको स्थानमा सुनको जलाडी हाल्दैमा परम्परा भत्किन्छ भने हलो जोत्ने किसानका छोरा कसरी पत्रकार भए ? कसरी प्रोफेशर भए । हलो जोत्नेको छोरा म कसरी प्रधानमन्त्री भए ? ’

म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर...

पार्टी र सरकारमा बसेर पनि आफ्नै केही साथीहरुले औधी उपद्रो मचाएको उहाँको आरोप थियो । पूर्व सहकर्मीहरु माधवकुमार नेपाल, झलनाथ खनाल तथा पुष्पकमल दाहाललाई लक्षित गर्दै उहाँले कुन्ती मोक्तानको यो गीत गुनगुनाउनुभयो, ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर...।’ 

आफ्ना पूर्व सहकर्मीहरुलाई लक्षित गर्दै उहाँले हिन्दीको अर्को उखान पनि भन्नुभयो, ‘जब चिटीकी मौत आती है, तो उसके पंख निकल आती है । प्रधानमन्त्री खान हिँडेका साथीको यही हालत हुनेबाला छ ।’ आफू फागुनसम्म प्रधानमन्त्रीको पद छोड्ने मनस्थितिमा आई सकेको बेला दाहाल–माधव समूह बाहिर गएको खुलासा पनि उहाँले गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले साथीहरुलाई भनेको थिएँ । फागुनसम्म मिलेर जाने हो भन्ने म छाडी दिन तयार छु । तर उनीहरुलाई तुरुन्तै पद चाहिएको थियो । छाडेर गए ।’ आफू बाच्न सक्ने भएपछि उनीहरुमा भय पलाएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘दोश्रो पटक किडनी फेर्छन । त्यो पनि नेपालमै । उनीहरुले भगवान अल्लाह सबैलाई गुहारे । म बाच्दिन भनेर उनीहरु पालो कुरेर बसेका थिए । तर, म त १० दिनमै काममा फर्कें । उनीहरुलाई दिक्दार लाग्यो अनि पार्टी छाडेर भागे ।’

दाहाल–माधव समूह बाहिर गएयता पार्टी निद्राबाट ब्यूँझिए झै भएको उहाँको कथन थियो । मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोको देश शंकटमा रहेको अभिव्यक्ति प्रति टिप्पणी गर्दै उहाँलिे भन्नुभयो, ‘के को संकट ? कस्तो संकट ? केही मान्छे जाँदैमा संकट आउँछ ? देशमा तीन करोड जनता छन् ।’ सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने कुरामा ढुक्क हुन् आग्रह गर्दै उहाँले मिथिला नगरपालिकामा पहिलो चरणमै (बैशाख १७ गते) नै निर्वाचन हुने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘तपाईहरु तयार हुनोस् । एक दिन पनि चुनावको मिति सर्दैन । यस क्षेत्रमा बैशाख १७ गते नै चुनाव हुन्छ ।’ प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलका नेताहरुले आफूलाई मधेस विरोधी भएको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

उहाँले मधेस केन्द्रित दलका नेताहरुमाथि जातीय, क्षेत्रीय, धार्मिक विभेद हटाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रीयताको कुरा नगरौं । हिन्दू–मुस्लिम विभेद नगरौं । यादव–पचकुनिया र डुम–चमारको कुरा पनि नगरौं । एक भएर देश विकासमा जुटौं ।’


प्रतिक्रिया