राजवंशी वस्तीमा धुमधाम सिरुवा

वैशाख १, २०८०

नयाँ वर्षको शुभारम्भसंगै आदिवासी राजवंशी जातिको सिरुवा पर्व सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवा पर्व राजवंशी जातिको मुख्य चाड हो । बैशाख १ गते अर्थात सिरुवा पर्वको पहिलो दिन राजवंशी जातिले पानी सिरुवा मनाएका छन् । आपसमा पानी छ्यापछ्याप गरी पानी सिरुवा मनाएका हुन् । राजवंशी वस्तीहरुमा पानी खेलेर उनीहरुले सिरुवा र नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । 

आफूभन्दा ठूलाको खुट्टा ढोगेर आर्शिवाद लिएपछि पानी सिरुवा खेल्न सुरु गर्ने चलन छ । ठूलाबडाले पानी शिरमा राखेर वर्षभरी शान्त रहनु, सधैं सितलता प्राप्त गर्नु तथा स्वास्थ्य रहनु भन्दै आर्शिवाद दिने परम्परा छ । राजवंशी समाज विकास समितिका पूर्व झापा जिल्ला अध्यक्ष टोमलाल राजवंशीले बैशाख १ गते पानी खेल्नैपर्ने बताउनुभयो । २ गते काद (माटोको हिलो) र ३ गते रंग सिरुवा खेल्ने परम्परा रहेको जानकारी दिनुभयो । सिरुवाको पहिलो दिन घर आँगन लिपपोत गर्ने, घरमा कसैको कुदृष्टि नलागोस भनेर प्याज, लसुन, खुर्सानी, कागती बाँधेर घरको मूल ढोकामा झुण्डाउने गरिन्छ । सिरुवाको दोस्रो दिन आपसमा हिलो छ्यापाछ्याप गरेर काद सिरुवा मनाउने चलन छ । 

माटोको पूजा गरेर ठूलाबडाबाट आर्शिवाद लिएपछि हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा खेल्ने गरिन्छ । सो दिन राजवंशी जातिले आफ्नो कुल देवताको पूजापाठ गर्ने गर्छन् । बिहान काद सिरुवा खेलेर पूजापाठ गरेपछि बेलुका ‘घाटोसरी’ पूजा गर्ने चलन छ । राजवंशी महिलाहरुले बेलुकाको समयमा नजिकैको नदी/तलाउमा गएर घाटोसरी पूजा गर्ने गर्छन् । सिरुवाको तेस्रो तथा अन्तिम दिन रंग सिरुवा मनाइन्छ । वर्षभरी जीवन रंगिन बनुन, खुसी र सुख प्राप्त होस् भन्ने कामना गर्दै आपसमा रंग दलेर रंग सिरुवा खेल्ने चलन छ । 


प्रतिक्रिया