लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त

वैशाख १४, २०८० | रूपन्देही

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थन देखिएपछि मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । यसअघि बनेको एमाले नेतालिलागिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मतप्राप्तगर्न नसकेपछि ढलेको थियो । 

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्य एक जना तुलाराम घर्ती सभामुख हुनुहुन्छ । चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचितहुनु भएको थियो । यसअघि पनि निर्वाचित उहाँ अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गर्नु भएको थियो । झण्डै डेढ वर्ष प्रदेशको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री बन्नु भएका चौधरी २०७३ सालमा संघीय सरकारको श्रम राज्यमन्त्री पनि हुनु भएको थियो ।

दाङको कमैया मुक्त आन्दोलनका अगुवा चौधरी विभिन्न गैरसरकारी संघ संस्थाहरुमा पनि नेतृत्व गर्दै सामाजिक अभियान्ताको पहिचान बनाएका व्यक्ति हुनुहुन्छ । प्रधानमन्त्री देउवा निकट उहाँ २०६४ देखि निरन्तर महासमिति सदस्य हुनुहुन्छ । १७ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय चौधरीले थारु समुदायसहित अन्य अल्पसंख्यक गरिबीको रेखामुनी रहेका नागरिकलाई शिक्षाका लागि पनि अभियान संचालन गर्नु भएको थियो । चौधरीकै नेतृत्वमा २०७५ सालमा कमैया आन्दोलन सुरु भएको थियो । राजनीतिक परिवर्तन, पिछडिएका समुदायको सशक्तिकरणमा लागेका चौधरीलाई तत्कालिन पञ्चायत सरकारले देशद्रोहीको आरोपमा प्रहरी हिरासतमा पनि राखेको थियो । चौधरीले सामाजिक विकासमा स्नातक सम्मको अध्ययन गर्नु भएको छ । 


प्रतिक्रिया