राष्ट्रिय परीक्षा बोर्डमा नाम,थर सच्याउनेको चाङ

जेष्ठ २०, २०८०

पछिल्लो समय कक्षा १० को प्रमाणपत्र र नागरीकता प्रमाणपत्रमा नाम, थर, जन्म मिति बिग्रिएको समस्या लिएर राष्ट्रिय परीक्षा बोर्डमा जानेको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णु प्रसाद श्रेष्ठले नागरीकताको प्रमाणपत्र र कक्षा १० को प्रमाणपत्रमा नाम, थर, जन्म मिति नमिलेका व्यक्तिहरु आफु समक्ष आउने क्रम बढेको बताउनुभयो । कक्षा ९ मा रजिष्ट्रेशन फारम भर्दा एक खालको नाम थर राख्ने र नागरिकता बनाउने क्रममा अर्को खालको नाम, थर जन्म मिति राखेर बनाउने हुँदा समस्या उत्पन्न भएको उहाँको भनाई थियो । कक्षा ९ को रजिष्ट्रेशन फारम भर्दा विद्यार्थी, विद्यालय र अभिभावकले पनि सतर्कता अपनाए यस्तो समस्या कम हु्ुने पनि उहाँले बताउनुभयो ।

यसैबीच गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दलित थर परिवर्तन गर्ने विषयमा संशोधन गरेपछि यस किसिमको समस्या लिएर आउने विद्यार्थीको संख्या बढेको उहाँले बताउनुभयो । जात, थर र जन्म मिति आफुहरुले सच्याउन नसक्ने समेत उहाँले स्पष्ट पार्नुभयो । यस प्रकारका समस्याले हरेक क्षेत्रमा समस्या आइपर्ने भन्दै शुरुमै विद्यार्थीले कक्षा ९ को रजिष्ट्रेशन फारम भर्दा ध्यान दिनुपर्ने पनि उहाँको भनाई थियो । 


प्रतिक्रिया