विहेको प्रलोभनमा पारेर बलात्कार, गर्भ बसेपछि केटा फरार

श्रावण ९, २०८० | वीरेन्द्रनगर

सुर्खेतमा एक जना किशोरीलाई विहेको प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । १६ वर्षीया किशोरी न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी छन् । 

किशोरीलाई गाउँकै कमल माझी (काले) भनिने २१ वर्षीय युवकले दुई वर्षदेखि विहे गर्ने प्रलोभनमा बलात्कार गर्दै आएको किशोरीले बताएकी छन् । अहिले उनको गर्भमा नौ हप्ताको बच्चा समेत भएको स्वास्थ्य रिपोर्टले देखाएको छ । 

दलित समुदायकी ती किशोरीलाई माझीले विभिन्न समयमा उनकै कोठामा, घरमा र विद्यालयबाट लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । माझी असार ९ गतेदेखि सम्पर्कविहीन भएपछि न्याय माग्दै किशोरी प्रहरी कार्यालयसम्म आइपुगेकी हुन् । 

विवाह गर्छु भन्दै विभिन्न आश्वासन दिएर दुई वर्षदेखि बलात्कार गर्दै आएको पीडित किशोरीले बताइन् । पेटमा बच्चा बसेको थाहा पाएपछि सानो जातको घरमा मान्दैनन् भनेर केटा फरार भएको उनले बताइन् । 

अहिले किशोरी वीरेन्द्रनगरस्थित एक गैर सरकारी संस्थाको आवास गृहमा आश्रय लिइरहेकी छन् । युवक फरार भएकोले प्रहरीले उनको खोजी कार्य अघि बढाएको छ । किशोरीको स्वास्थ्य परीक्षण र घटनाको मुचुल्का समेत गरेर घट्नाबारे थप अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 


प्रतिक्रिया