तीनकुने सामूहिक हत्याः संलग्न सार्वजनिक

भाद्र ३१, २०८० | काठमाडौं

काठमाडौंको तीनकुनेमा एकै परिवारका ३ सहित चार जनाको हत्या घटनामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै आज साँझ सार्वजनिक गरेको हो । 

रिसीबीका कारण घटना भएको प्रहरीले जनाएको छ । केही समयअघि मोटरसाइकल दुर्घटनामा परेका मृतक विशाल राईले सञ्जयलाई कुटपिट गरेका थिए । दुर्घटनापछि पटक–पटक टेलीफोन सम्पर्क भएपनि भेट नभएको र पछि विशाल सःमिलमा बस्ने गरेको थाहा पाएपछि हत्या भएको प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका भण्डारी बोल्न नसक्ने अवस्थाका व्यक्ति हुन् । घटना भएको दिन भण्डारी काँडाघारीस्थित आफन्तको घरबाट झोलामा धारिलो हतियार राखेर घटना स्थलतर्फ आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 भण्डारीले सुरुमा धनकुटाको भिरगाउँ गाउँपालिका २ का विशाल राई, दोलखा कालिञ्चोक गाउँपालिका ८ की ७६ वर्षीया बृद्धा सुभद्रा भूजेलको हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनले सुभद्राका छोरा पूर्णबहादुर र पूर्णबहादुरकी श्रीमती अम्बीका भुजेलको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरको नेतृत्वमा शनिबार पाँच सदस्यीय समिति गठन गरिएको थियो ।


प्रतिक्रिया