लागूऔषध विरुद्ध कर्णालीमा 'लालटिन अभियान'

आश्विन २६, २०८० | वीरेन्द्रनगर

कर्णाली प्रदेशमा लागूऔषध विरुद्ध लालटिन अभियान सुरु गरिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारबाट कर्णालीका १० वटै जिल्लामा एकैसाथ अभियानको सुरुवात गरेको हो । 

कर्णालीमा दिन प्रतिदिन लागूऔषध सेवन र कारोबार बढ्दो मात्रामा रहेकोले यो अभियानको सुरुवात गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीम ढकालले बताउनुभयो । 

सुरक्षित कर्णाली विशेष अभियान २०८० कार्यक्रम अन्तर्गत यो कार्यक्रमको सुरुवात गरिएको उहाँको भनाई छ । ‘लालटिनको उज्यालोले जसरी अध्यारो ठाउ“मा चौतर्फी प्रकाश छरी कुनैपनि चिजवस्तुको खोजी गर्न सहयोग पुग्दछ’, डीआइजी ढकालले भननुभयो, ‘त्यसैगरी कर्णाली प्रदेशमा यस अभियानले लागूऔषधको उत्पादन हुने स्थान, लागूऔषध कारोबारी र प्रयोगकर्ताको खोजी गर्नेछ ।’ 

उहाँका अनुसार यो अभियानबाट कर्णालीमा लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनविरुद्ध व्यापक प्रहरी परिचालन गरी कानूनी दायरामा ल्याइनेछ । साथै लागूऔषध दुर्व्यशनले प्रभाव पारेको क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्ग लक्षित नियन्त्रणका उपायहरु अबलम्बन गरिने योजना रहेको डीआइजी ढकालले बताउनुभयो । 

बिहीबारबाट कर्णालीमा सुरु भएको लागूऔषध विरुद्धको लालटिन अभियानको क्रममा सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रभातफेरि कार्यक्रम ।

उहाँका अनुसार अब कर्णालीमा निरन्तर रुपमा प्रभावकारी तवरले लागूऔषध विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गरिनेछ । अभियान अन्तर्गत जिल्लामा प्रहरी प्रमुख संयोजक रहेर जिल्लाका विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागितामा जिल्ला लालटिन समन्वय डेक्सको स्थापना गरिनेछ ।

पालिकाका प्रमुखलाई संयोजक बनाएर पालिका स्तरीय लालटिन समूह गठन गरिनेछ । यस्तै, वडा स्तरीय लालटिन समूह, कलेज-विद्यालय लालटिन समूह र गाँउटोल स्तरिय लालटिन समूह पनि गठन गरिने योजना रहेको छ ।

कर्णालीमा आर्थिक वर्ष २०७७/०७८ मा ७० वटा लागूऔषधका मुद्दा दर्ता भएका थिए । यो वर्ष यसमा संलग्न १ सय ३३ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा मुद्दा दर्ता भएका थिए । यो वर्ष १ सय ७२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

आव २०७९/०८० मा १ सय १४ वटा मुद्दा दर्ता भएका छन् । यसमा विभिन्न प्रकारले संलग्न भएका २ सय १५ जनालाई नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्णालीमा लागूऔषध प्रयोग गर्नेहरु सबैभन्दा बढी १६ देखि २६ वर्षभित्रका युवाहरु छन् ।

कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, दैलेखको नारायण र दुल्लु नगरपालिका, सल्यानको शारदा नगरपालिकामा लागूऔषधको कारोबार र प्रयोग बढी हुने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, जाजरकोटको भेरी नगरपालिका, रुकुम पश्चिमको मुसिकोट र चौरजहारी नगरपालिकामा पनि लागूऔषधको कारोबार र प्रयोग बढी हुने गरेको छ । कालिकोटको खाडाचक्र र तिलागुफा नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, मुगुको छायानाथरारा नगरपालिका पनि लागूऔषधको कारोबार र प्रयोग बढी हुने पालिकाहरुमा परेका छन् ।


प्रतिक्रिया