गृह श्रमिकको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिवद्ध छ : श्रममन्त्री भण्डारी

कार्तिक ३, २०८० | काठमाडौं

दक्षिण एसियाका गृह श्रमिक संगनहरुको क्षेत्रीय सञ्जाल होमनेट साउथ एसियाले काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गरेको छ । गृहश्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाले काठमाडौंमा तीन दिने सम्मेलनको आयोजना गरेको हो । बिहीबारदेखि सुरु भएको सो सम्मेलन शनिबार सम्पन्न हुनेछ । 

सम्मेलनमा भारत, बंगलादेश, भुटान, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका महिला गृह श्रमिक, श्रमिक प्रतिनिधि र गैर सरकारी संस्था लगायतको सहभागिता रहेको छ । 

काठमाठौंमा सुरु सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले गृह श्रमिक महिलाको मुद्दा निकै महत्वपूर्ण रहेको बताउनुभयो । गृह श्रमिक महिलाहरुको जीवनमा सुधार ल्याउनका लागि आफू प्रयासरत रहेको पनि बताउनुभयो ।

अनौपचारिक रुपमा श्रममा आवद्ध महिलाहरुलाई संगठित गरी औपचारिकता प्रदान गर्न प्रयासरत रहेको मन्त्री भण्डारीले बताउनुभयो । देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक सशक्तीकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो । 

गृह श्रमिकहरुले मर्यादिन जीवन बाँच्न पाए मात्र स्वस्थ्य र सहयोगी पारिवारिक वातावरणमा उनीहरुले काम गर्न सक्ने मन्त्री सिंहको भनाई थियो । सो अवसरमा दक्षिण एसियाका गृह श्रमिकहरुले मन्त्री सिंहलाई ८ बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए ।

कार्यक्रममा होमनेट साउथ एसियाका क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले एक वर्षे कार्य उपलब्धी प्रस्तुत गर्दै सरकारले गृहश्रमिकलाई कानूनी संरक्षणसँगै सामाजिक र व्यवसायिक सुरक्षा प्रत्याभूति दिनुपर्ने बताउनुभयो । गृह श्रमिकलाई श्रमिकको मान्यता दिलाउन र श्रम अधिकारको पहुँच दिलाउने सन्दर्भमा आवाज बुलन्द गरिने बताउनुभयो ।

यस क्षेत्रीय सम्मेलनले दक्षिण एसियामा गृहश्रमिकहरूको आन्दोलनप्रतिको एक्यबद्धतालाई प्रतिबिम्वित गर्ने होमनेट साउथ एसियाले जनाएको छ । तीन दिनको अवधिमा सहभागी प्रतिनिधिले जोखिमपूर्ण अवस्थामा रहेका महिला गृहश्रमिकले सामना गर्ने विद्यमान र उदीयमान मुद्दामाथि छलफल गर्नेछन् । त्यसमा श्रमिकका रुपमा मान्यता प्रदान नगरिएको अवस्था, आपूर्ति शृङ्खलामा शोषण, जलवायु परिवर्तनको प्रतिकूल असर, सामाजिक सुरक्षा, बजार र सम्मानित रोजगारीमा पहुँचको अभाव लगायत विषय रहेका छन् । 

छलफलले यस नेटवर्कको रणनीतिलाई सुसूचित गर्नुका साथै कार्यान्वयनका लागि आठ बुँदे आह्वानका रुपमा भविष्यका लागि मार्ग प्रशस्त गर्ने पनि काम गर्ने होमनेट साउथ एसियाले जनाएको छ ।


प्रतिक्रिया