डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी वाजेद निर्वाचित

कार्तिक १५, २०८० | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित हुनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज भएको निवार्चनमा वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पराजित गर्नुभयो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरी समेत रहेकी वाजेदले ८ मत प्राप्त गर्दा नेपालका आचार्यको पक्षमा २ मत परेको थियो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा अस्ती सोमबारदेखि जारी छ । सदस्य रहेका सबै देशका स्वास्थ्यमन्त्री क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट नै चुनिँदै आएको छ ।

अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह हुनुहुन्छ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् ।

११ सदस्य राष्ट्रमध्ये सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मार भने मतदानमा सहभागी हुन पाएन । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका अधिकारी क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली पुगेका छन् ।


प्रतिक्रिया