कुलमान घिसिङको बिषयले संसदमा गतिरोध उत्पन्न

रेडियो कान्तिपुर संवाददाता

चैत्र १४, २०८१ | काठमाडौं

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको बिषयले संघीय संसदमा गतिरोध उत्पन्न भएको छ । राजतन्त्रवादी शक्तिको बढ्दो सक्रियतासँगै राष्ट्रिय राजनीति तरंगित भइरहँदा घिसिङलाई पदबाट हटाएको मुद्धा उठाउँदै प्रतिपक्षको अवरोधका कारण लगातार दोस्रो दिन संसदको कामकारवाही प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठक नै नबसी भोलिका लागि सारिएको छ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद बेदुराम भुषालले प्रतिपक्षीको माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताउनुभयो । विपक्षीको माग अनुसार संसदलाई जवाफ नदिने प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्तिप्रति भुषालले आपत्ति जनाउनुभयो ।

यसैबीच, राष्ट्रिय सभामा कंग्रेस सांसद कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभाबाट आएका विधेयक पारितको प्रक्रिया रोक्न नहुने बताउनुभयो । विपक्षीको अवरोधकै बीच बोलेका सांसद सिटौलाले राष्ट्रिय सभा आफ्नो भूमिकाबाट अलग हुन नमिल्ने बताउनुभयो ।

यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्मचारीको बिषय उठाएर संसदमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । अनावश्यक रुपमा विवाद झिकिएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य भएको बिषयमा कुलमान घिसिङलाई मात्र जस दिन खोजिएको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया