कुलमान घिसिङले पेश गरेको रिट दर्ता

चैत्र १४, २०८१

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट दर्ता भएको हो । सो रिट माथिको प्रारम्भिक सुनुवाई भोलिका लागि तोकिएको छ । वारेसमार्फत् घिसिङले हिजो रिट पेश गर्नुभएको थियो । रिटमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाइएको छ । 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यसैबीच, नवनियुक्त कार्यकारी निर्देशक शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । शाक्य आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै हिजो सर्वोच्चमा रिट लिएर पुग्नु भएको थियो । सर्वोच्च प्रशासनले भने आज रिटमा रीत नपुगेको भन्दै सच्याउन अवसर दिएको थियो । शाक्यले सच्याएपछि आज नै रिट दर्ता भएको हो । उहाँको रिटको समेत भोलिका लागि पेशी तोकिएको छ । 


प्रतिक्रिया