जाजरकोट भूकम्प : भेरी अस्पतालमा उपचाररत ४० जना डिस्चार्ज

कार्तिक २६, २०८० | नेपालगञ्ज

जाजरकोट भूकम्पमा परी घाइते भएर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४० जना डिस्चार्ज भएका छन् । कात्तिक १८ गतेदेखि भेरीमा उपचार गराइरहेका उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । 

शनिबार थप २२ जना निको भएर घर फर्केपछि उपचारपछि डिस्चार्ज हुनेको संख्या ४० पुगेको अस्पतालले जनाएको छ । भूकम्पबाट घाइते भएका उनीहरुलाई घर नजिकसम्म पु¥याउने गरी बसको व्यवस्था गरिएको थियो । 

जाजरकोटको खलंगा–९, आठबिसकोट, रुकुमको रिम्नासम्म बसको व्यवस्था गरिएको छ । उनीहरुलाई सम्बन्धित जिल्लाको घर नजिकसम्म भेरी यातायात ब्यवसायी संघको समन्वयमा निःशुल्क पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेलले बताउनुभयो । 

उनीहरुलाई प्रति व्यक्ति२५ किलो चामल, ५ किलो दाल र २ लिटर तेल समेतको राहत प्याकेजसहित घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई विपद व्यवस्थापन समितिले कम्मल र त्रिपाल पनि १–१ थान उपलब्ध गराएको छ । 

भूकम्पका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उपचारका लागि आएका अस्पतालमा ५८ जना आएकोमा एक जनाको मृत्यु र ३ जनालाई काठमाडौं रिफर गरिएको थियो । अहिले अस्पतालमा अब १४ जनाको उपचार भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।  


प्रतिक्रिया