छठ पर्वको विधि शुक्रबारबाट सुरु, आज ‘नहाय खाय’

छठ पर्वको लागि सजाईएको वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा बिहीबार साँझ देखिएको मनोरम दृश्य । तस्बिर सौजन्य : मुन्ना सर्राफ  

मंसिर १, २०८० | पर्सा

अगाध आस्था र श्रद्धाको पर्व छठको विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरुले शुक्रबार ‘नहाखाय’ विधिबाट यो पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छन् । उनीहरुले शुक्रबार नुहाई धुहाई चोखो नितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाएका छन् । 

व्रतालुले लौकाको तरकारीलाई सबै भन्दा चोखो तरकारीको रुपमा खाने गरेकाले यस दिन लौकाको माग अत्यधिक हुने गरेको छ । व्रतालुहरुले छठ पर्व नसकुन्जेल सम्मका मासुमाछा लगायत तामसिक भोजन गर्दैनन् ।

शुक्रबार ‘नहाखाय’ विधि गर्ने व्रतालुहरुले शनिबार साँझ ‘रस्याउ रोटी’ खाने छन् । ‘खरना’ समेत भनिने यो धार्मिक विधिमा व्रतालुहरुले आ–आफ्नो घरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् । 

रस्याउ रोटीलाई प्रसादको रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत निम्तो दिइन्छ । कतैबाट पनि निम्तो नपाएका तथा रस्याउ रोटी खाने अवसर नजुरेकाहरुले व्रतालुसँग मागेर यो प्रसादको रुपमा रस्याउ रोटी खाने चलन पनि छ । 

वीरगञ्ज तेजारथ टोलकी व्रतालु मन्जु देवीले शनिबार साँझ रस्याउ रोटी खाएका व्रतालुहरुले यसैको भरमा आइतबार दिनभरी निर्जल/निराहार ब्रत बस्ने बताइन् । ‘आइतबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन्,’ उनले भनिन्, ‘सोमबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि व्रत समाप्त गरेर मात्र प्रसाद खाएर कठोर व्रत तोडिने छ ।’

नयाँ नयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्दछन् । आइतबार साँझ छठ घाटमा व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पूजा सामग्रीहरुको अर्घ दिने छन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही व्रतालु राति घर फर्केर आगनमा कोशी भर्ने विधि गर्छन् ।

वीरगञ्ज गहवाकी अर्की व्रतालु सुगान्धी कुशवाहा माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको बताउँछिन् । यसरी कोशी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजाअर्चना गर्न आई पुग्छन् । घाटमै बसेका व्रतालुहरु भने रातभरी त्यही भजनकिर्तन गर्ने चलन रहेको उनले बताइन् ।

ब्रतालुको घरघरमा शनिबार दिनभरी तथा साँझमा समेत यो पर्वमा चढाईने विशेष किसिमको पिठोको ठेकुवा पकाइने छ । यस काममा व्रतालु तथा तिनका परिवारका सदस्यहरु व्यस्त रहनेछन् । यसरी प्रसाद पकाउँदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ ।

रस्याउ रोटी तथा प्रसाद पकाउन प्रयोग हुने पिठोको जोहो गर्न व्रतालुहरुको घर घरमा गहुँ सुकाउने काम अहिले भई रहेको छ । यसरी सुकाइने गहुँलाई चराचुरुङ्गीले जुठो लगाए पनि त्यो अपवित्र हुन्छ भन्ने मान्यता रहेकाले व्रतालु तथा तिनका परिवारका सदस्यहरु घाममा गहुँ रुङ्गेर बस्ने गर्छन् । चराचुरुङ्गीले मुख जुठो हालेमा गहुँ पखालेर सुकाउने गरिन्छ ।

वीरगञ्ज बजार तथा जिल्लाका अन्य ग्रामिण हाटहरुमा पनि छठ पर्वको सामग्री किनमेल गर्नेको बाक्लो भीड लागेको छ । कपडा पसलहरुमा पनि नया कपडा किनमेलहरुको भिडभाड छ । छठ पर्वका लागि वीरगञ्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली आदिका घाटहरुलाई बेहुली झैँ शृङ्गारिएका छन् ।

जिल्लाको ग्रामीण भेकका पनि सबै जसो गाउँमा छठ घाटहरु तयार पारिएका छन् । घडिअर्वा पोखरीमा गरिएको बिजुलीको साजसज्जाको कारण साँझको समयमा यो पोखरीमा आगन्तुकहरुको भिडभाड लाग्न थालेको छ । पोखरीको आकर्षक तस्बिर सामाजिक सञ्जालमा प्रसार हुन थालिसकेको छ ।

छठ पर्वलाई लक्षित गरी स्थायी घाटनै निर्माण गरिएको छ । देशकै सर्वाधिक ठूलो र भिडभाडयुक्त हुने यो घाटमा बिहान र बेलुका गरी करीब ५ लाख मानिसको आवागमन हुने अनुमान गरिन्छ । छठ व्रत लिनेहरुको घरमा सुख, शान्ति र समृद्धिको आगमनको साथै सन्तान प्राप्ति र चर्म रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।


प्रतिक्रिया