बर्दिवासका ५३ भूमिहिन सुकुम्बासीले पाए लालपुर्जा

जग्गाधनी पुर्जा पाएपछि खुशी स्थानीय चतुरमाया परियार र किरण किरण परियार । तस्बिर : सुनिता बराल/ रेडियो कान्तिपुर 

पुस २४, २०८० | महोत्तरी

महोत्तरीको बर्दिवासमै जन्मिएर ६९ वर्ष पुगेकी चतुरमाया परियार जीवनमा पहिलोपटक सम्पत्तिको हकवाला बनेकी छन् । राष्ट्रिय भूमि आयोग र बर्दिवास नगरपालिकाले सोमबार वितरण गरेको लालपुर्जा हात परेपछि अब आफ्नै जग्गामा घर बनाउने सपना रहेको चतुरमायाले सुनाईन् । ‘सम्पत्ति पाएपछि को खुशी हुँदैन ? उनले भनिन, ‘बुढेसकालमा यति भएपछि अब छोरा नातिले पनि हेर्छन्’ । एक कठ्ठा जग्गा आफ्नो नाममा दर्ता भएको पुर्जा हातमा परेपछि खुशीको सीमा नरहेको उनले सुनाईन् ।

‘श्रीमानको पनि रहर थियो आफ्नै जग्गा होस, तर उनको मृत्यु भयो,’ चतुरमायाले भनिन, ‘म भाग्यमानी रहेछु मेरै नाममा सरकारले जग्गा दियो’ । बुहारीले बालबच्चा छाडेर अर्कै विवाह गरेपछि २ नातिनी १ नाती र छोराको साथमा अरुकै घरमा डेरा गरेर बसेको उनले बताईन् । ज्याला मजदुरी गर्ने छोराको कमाईले पेट पाल्न पनि धौधौ भएकाले घर बनाउने सपना पूरा गर्न सजिलो नभएको उनको भनाई छ । अब सरकारले दिएको जग्गामा झुप्रो पनि सरकारलेनै बनाईदिओस् भन्ने आशा रहेको चतुरमायाले बताईन् ।

वर्षौदेखि धुप बेचेर आफ्नो परिवार पालिरहेका बर्दिवास–२ कै किरण परियार श्रीमती सन्तमाया र आफ्नो नामको संयुक्त लालपुर्जा लिएपछि खुशीले दंग छन् । दृष्टिविहीन भएकै कारण आफूले भनेजस्तो काम गर्न र कमाई गर्न नसकेको उनको गुनासो छ । कोही नहुनेको सरकार रहेछ भन्ने कुरा लालपुर्जा पाएपछि आफूले महसुस गरेको परियारले बताए । श्रीमती र दुई बालबच्चा लिएर अब झुप्रो भएपनि आफ्नै जग्गामा बनाएर सरकारले दिएकै जग्गामा बसोबास गर्ने चाहाना रहेको उनले सुनाए 

चतुरमाया र किरणसँगै महोत्तरी बर्दिवास–२ का ५३ परिवार भूमिहिन सुकुम्बासीेले सोमबार आयोगबाट जग्गाधनी पूर्जा (लालपुर्जा) पाएका छन् । बर्दिवास नगरपालिका भित्रबाट २ वर्षअघि १० हजार भूमिहिन दलित र सुकुम्बासी परिवारको लगत संकलन गरिएकोमा बर्दिवास–२ का ६० परिवार मध्य ५३ परिवारको लालपुर्जा वितरण गरिएको भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए । अन्यको भने अन्यत्र जग्गा रहेको, दर्ता भन्दा अन्यनामबाट हकदाबी परेको र २ जनाको मृत्यु भएकाले ५३ परिवारले मात्रै पुर्जा पाएका गोलेले बताए ।

महोत्तरीमै पहिलो पालिका र पालिकाको पहिलो वडाको रुपमा आफ्नो वडावासीलाई पुर्जा वितरण गर्न पाउँदा निकै हर्ष लागेको बर्दिवास–२ का अध्यक्ष श्याम राजा सिंहले बताउनुभयो । नगरपालिकाका भित्र देखिएका अन्य समस्याहरु निराकरण गर्दै जोतभोगको आधारमा जग्गाको स्वामित्व प्रदान गर्दै जाने प्रक्रियामा बर्दिवास नगरपालिका रहेको बर्दिवासका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बताउनुभयो ।

अहिलेको आयोगको नेतृत्वमा लालपुर्जा वितरण नहोस् भनेर केही मानिसहरु लागिपरेका भएपनि आयोगले बर्दिवासमा बाड्नु पूर्वनै देशका विभिन्न ठाउँमा ४ हजार ४ सय ४० परिवारलाई पुर्जा वितरण गरिसकेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिनुभयो । लालपुर्जाका लागि १३ लाख ५० हजार बढी परिवारले आयोगमा निवेदन दिईसकेको त्यसमध्य १० लाख बढी निवेदनलाई अनलाईनमा दर्ता गरिसकिएको र जग्गाधनी पुर्जा दिने प्रक्रियामा रहेका जग्गा जोतभोगको आधारमा वितरण गरेरै छाड्ने खड्काले जानकारी दिनुभयो ।

बर्दिवास सहित देशभरका भूमिहिन दलित र सुकुम्बासीले लालपुर्जा पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको आयोगका अध्यक्ष केशव निरौलाले बताउनुभयो । लालपुर्जा पाउँदैमा दलित र सुकुम्बासीका सबै समस्या हटिहाल्ने नभए पनि मौलिक हक प्राप्त गरेपछि जनताको आत्मविश्वास र आत्मासम्मान बढ्ने निरौलाको भनाई छ । भूमि आयोग जनताकै आयोग भएकाले अझै धेरै प्रकारका जग्गा विवादहरु मिलाउँदै पुर्जा वितरण गर्दै जाने निरौलाले बताउनुभयो ।


प्रतिक्रिया