भालुबाङमा बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको सनाखत

पुस २८, २०८० | दाङ

दाङको भालुबाङमा बस दुर्घटनामा परि मुत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका दुई भारतीय नागरिक सहित ८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । 

दुर्घटनामा परि बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरको हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको पहिचान खुलेको डीएसपी मल्लले जानकारी दिनुभयो ।

यसैगरी जुम्लाको श्रीढुस्का–९ का ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्रको सनाखत भएको उहाँले बताउनुभयो । 

चार जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा खसेको थियो । 

दुर्घटनामा घाइते भएका मध्ये १४ जनाको कोहलपुर मेडिकल कलेज, ७ जनाको बुटवलमा र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक सल्यानको त्रिवेणी–४ बस्ने २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया