दाङमा प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

माघ २१, २०८० | दाङ

दाङको घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् । 

नेपालगञ्जबाट श्रीमती आएको छ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराही–१५ स्थित होटेल ग्रिनपिसमा बास बसेका थिए । 

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी थिचेर श्रीमती र छोराको हत्या गरेको भनी प्रहरी कार्यालयमा नेपाली आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जनकबहादुर मल्लले बताउनुभयो ।

नेपालीको घर रोल्पाको रुन्टीगढी गाउँपालिका–९ हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । 

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भईसकेको डीएसपी मल्ले बताउनुभयो । 

श्रीमतीले विवाद गरेर कि मलाई मार नत्र तलाई मार्छु भन्दै आक्रमणमा उत्रिएपछि प्रतिकार गरी हत्या गरेको नेपालीले प्रारम्भिक बयान दिएको डीएसपी मल्लले जानकारी दिनुभयो । 


प्रतिक्रिया