इस्लाम धर्मावलम्बीले आज ईद मनाउँदै

फाइल फोटो 

चैत्र २९, २०८० | काठमाडौं

देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र पर्व मनाउँदै छन् । ईद पर्वलाई मुस्लिम समुदायमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । 

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिदै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ । यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । 

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्म अनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । 

रमजानलाई पवित्र महिना मानिन्छ । इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ । 

राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसंख्याको ५ दशमलव ९ प्रतिशत छ । इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, रौतहट, सप्तरी, मोरङ, कपिलवस्तु, सुनसरी लगायत इस्लाम समुदाय बसोबास गर्ने अन्य स्थानमा समेत यो पर्व मनाइन्छ । 


प्रतिक्रिया