कतारी राजा स्वदेश फिर्ता

वैशाख १२, २०८१

कतारका राजा अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । भ्रमणको दोस्रो तथा अन्तिम दिनमा कतारी राजा अल थानी नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर समारोह र प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गर्नुभएको दिवाभोजमा सरिक हुनुभएको थियो । 

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो । कतारी राजालाई बिदाइ गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका थिए । कतारका राजाको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान अर्पण गरेको थियो ।


प्रतिक्रिया