गण्डकी प्रदेशमा डेंगी संक्रमण उच्च बन्दै

श्रावण ३२, २०८१ | काठमाडौं

गण्डकी प्रदेशमा पछिल्लो केही साता यता डेंगी संक्रमण उच्च बन्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको पछिल्लो तथ्यांक अनुसार कुल डेंगी संक्रमितको ३६ प्रतिशत अर्थात एक हजार २ सय २६ जना गण्डकीमा मात्रै भेटिएका छन् । 

यस्तै बागमतीमा ८ सय ७० जनामा संक्रमण पुष्टि भएको इडीसीडीले जनाएको छ ।

कोशीमा ५ सय ८२, लुम्बिनीमा २ सय ९४ र सुदूरपश्चिममा २ सय ६४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगीका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् ।

विभिन्न ७३ वटा जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । 

८ महिनाको अवधिमा ३ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको इडीसीडीको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय लगातार बर्षा भइरहेकाले डेंगी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् ।

यसैबीच ललितपुर, काठमाण्डौं, कैलाली र प्युठानमा गरी ५० जनामा हैजा पुष्टि भएको छ । 

ललितपुरमा ३८, काठमाण्डौंमा २, कैलालीमा ८ र प्युठानमा २ गरी ५० जनामा हैजा पुष्टि भएको हो ।

हैजा मुख्यतः खानेपानीको माध्यमबाट सर्ने भएकाले उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिक्रिया