संसदीय विशेष समितिको बैठक आज पनि जारी

श्रावण ३२, २०८१ | काठमाडौं

सहकारी रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकसँग बयान लिने काम जारी राखेको छ ।

देशभरका समस्याग्रस्त विभिन्न सहकारीका पीडित, सरोकारवाला पक्ष, विज्ञ लगायतसँग छलफल गरेको समितिले सहकारी हिनामिना प्रकरणमा जोडिएकासँग बयान लिने कामलाई जारी राखेको हो ।

सहकारी प्रकरणमा आरोपित एवं जोडिएका सञ्चालकहरुसंग समितिले १९ जनासंग बयान लिइसकेको जनाएको छ ।

यसैबीच, समितिले आज पनि चार जनासंग बयान लिने तयारी गरेको छ ।

सिंहदरबारस्थित एक हलमा बस्ने बैठकमा सुप्रिम सहकारीका तत्कालिन सचिव दिपेश पुनसंग बयान लिने तयारी गरिएको समिति सदस्य सरिता भुसालले जानकारी दिनुभयो ।

त्यसलगत्तै सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्रबहादुर रिमाल, सुनसरीको वराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासंग बयान लिने भुसालको भनाइ छ ।

विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये हिजो ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य संचालक सुधिर बस्नेतलाई समितिको बैठकमा ल्याई सोधपुछ गरिएको थियो । 


प्रतिक्रिया