अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पुस १६, २०८१
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ र उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेलसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध आज ४६ लाख बढिको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । स्थानीय बजार क्षेत्रको बाटोमा गुणस्तरहीन ढलान गरेको आरोपमा अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
गुणस्तरहीन ढलान कार्य गरेको भन्ने उजुरीका आधारमा उनीहरु विरुद्ध अनुसन्धानका क्रममा संलग्नता देखिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगले तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नवीन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ, तत्कालीन सवइन्जिनियर सूर्यप्रसाद पौडेल र सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध जनही २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो आयोगले दाबी गरेको छ । त्यस्तै, आयोगले प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गलदेवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध जनही ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरेको छ ।