रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा

पुस २०, २०८१ | काठमाडौं

रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियामाथि नाटकीय जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्याड्रिडले भ्यालेन्सियालाई उसैको मैदान मेस्टाला स्टेडियममा २–१ गोलले पराजित गरेको हो । 

यो जितसँगै रियल म्याड्रिड १९ खेलबाट ४३ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिको म्याड्रिड १८ खेलबाट ४१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मेस्टाला स्टेडियममा भएको रोमाञ्चक खेलको २७ औं मिनेटमा ह्युगो डुरोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । 

केलियन एमबाप्पेलाई फाउल गरेपछि ५५ औं मिनेटमा रियलले बराबरी गर्ने मौका पाएको थियो । तर, इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घम पेनाल्टीमा गोल गर्नबाट चुके । 

खेलको ७९ औं मिनेटमा भिनिसियस जुनियर रातो कार्ड खाँदै बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा सीमित बन्यो । खेल ८५ औं मिनेटमा वैकल्पिक खेलाडी लुका मोड्रिचले म्याड्रिडका लागि बराबरी गोल फर्काए । 

खेलको अतिरिक्त समयको ५ औं मिनेटमा बेलिङ्घमले गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरे । खराब लयबाट गुज्रिएको भ्यालेन्सिया भने १८ खेलबाट मात्र १२ अंक जोडेर तालिकाको १९ स्थानमा रहेको छ । 


प्रतिक्रिया