हिउँदे अधिवेशनबाट विधेयक पारितको प्रक्रिया अघि बढ्छः शिक्षा मन्त्री भट्टराई

माघ ११, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा सम्वन्धि विधेयक संसदको यही अधिवेशनबाट पारित गर्ने गरी काम भइरहेको दावी गर्नुभएको छ । सम्बन्धित समितिमा दफावार छलफल भएको र प्रदेश तहमा समेत सरोकारवाला पक्षसँग छलफल जारी रहेको भन्दै मन्त्री भट्टराईले हिउँदे अधिवेशनबाट विधेयक पारितको प्रक्रिया अघि बढाउने बताउनुभएको हो । 

गोरखाको गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले विद्यालय शिक्षा विधेयक पारित गर्न सबै पक्षले खबरदारी गर्नुपर्ने समेत बताउनुभयो । विद्यालय शिक्षा सम्वन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको सो विधेयक झन्डै डेढ बर्षदेखि विचाराधिन अवस्थामा छ । तत्कालिन शिक्षामन्त्री अशोक राईको पालामा २०८० साल भदौ २७ गते सो विधेयक प्रतिनिधिसभामा पुगेको थियो ।  


प्रतिक्रिया