राप्रपाको केन्द्रीय समितिको बैठक काठमाडौंमा शुरु
माघ ११, २०८१
प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा शुरु भएको छ । महाधिवेशन र अधिवेशनको कार्ययोजना बनाउन, भावी कार्यदिशा, संगठन सुदृढीकरण लगायत समसामयिक राष्ट्रिय विषयसहितको एजेन्डामा छलफल भएको नेताहरुले बताएका छन् । सो पार्टीले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने तयारी समेत गरेको छ । राप्रपाले आगामी २०८२ मंसिरमा महाधिवेशन गर्ने तयारी गर्दै वडादेखि जिल्ला तहसम्मको अधिवेशनबारे केन्द्रिय कमिटीबाट निर्णय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक भोलि सम्पन्न हुने राप्रपाले जनाएको छ । काँग्रेस र एमालेसहितको संयुक्त सरकारले सुशासन दिन नसक्दा भ्रष्टाचार संस्थागत बन्दै गएको निष्कर्ष राप्रपाले निकालेको छ । यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेस र एमाले बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । केन्द्रिय कमिटी बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाप्रति आपत्ति जनाइएको छ । वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा प्रतिवेदनमा औंल्याइएको छ ।