पशु चौपाया जथाभावी छाड्नेलाई ७ हजार जरिवाना

माघ १४, २०८१ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडकमा जथाभावी पशु चौपाया छोड्नेलाई जरिवाना तिराउने भएको छ । सडकमा जथाभावी पशु चौपाया छोड्नेलाई ७ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको नगरपालिकाले जनाएको हो । 

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि पालिकाले गत हप्तादेखि व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हालसम्म ७८ वटा गाईगोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले बताउनुभयो । 

छाडा चौपाय आफ्नोे भनि दाबी गर्न आएका २ जनालाई ७ हजार जरिवाना गरेर गाईवस्तु जिम्मा लगाइएको यादवले जानकारी दिनुभयो । 

बजारमा छाडा रुपमा हिँडिरहेका चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको वाणंगगा नगरपालिका–२ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । 

छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान नै चलाउनुपरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताउनुभयो । ‘विशेष गरी छाडा गाईगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘छाडा गाईगोरुका कारण सवारी दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्दै आएका छन् ।’


प्रतिक्रिया