सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्न उर्जा प्राप्त हुनेः प्रधानमन्त्री ओली
माघ १६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्न उर्जा प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्य तथा विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका सहिदहरुको योगदान महत्वपूर्ण भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गर्नुभयो । लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ थियो । यसअघि उहाँले लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गर्नुभएको थियो ।