गोली लागेर चितवन निकुञ्जमा जंगली हात्ती मकुना मर्‍यो

माघ २४, २०८१ | चितवन

दाह्रा नहुने भाले जंगली हात्ती ‘मकुना’ मरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले चलाएको गोली लागेर जंगली हात्ती मरेको हो । आत्मसुरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएको निकुञ्ज कार्यालयले जनाएको छ । 

बुधबार दिउँसो साढे तीन बजेतिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा सो हात्ती मरेको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो । 

उहाँका अनुसार सो हात्तीलाई निकुञ्जको भित्रि इलाकामा पठाउन ५/६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटिएका सौराहास्थित नेपाली सेनाको नयाँ गोरख गण ‘क’ गुल्मका सेनाले दैनिक गस्ती गर्दै आएका थिए । 

सो क्रममा बुधबार जंगलमा अचानक मकुनासँग टोलीको जम्का भेट भएको हो । ‘सो क्रममा मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो,’ निकुञ्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो ।’ त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्र प्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेपछि आत्मरक्षाका लागि थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ । 

सो हवाइ फायरपछि मकुना हात्ती भागे पनि लगत्तै फर्केर आएको थियो । त्यसपछि एक राउण्ड गोली प्रहार गरेको निकुञ्जले जनाएको छ । त्यसपछि दिउँसो साढे एक बजेतिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन् । 

नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ । दाह्रा नहुने भाले जंगली हात्ती मकुना निकै नै कम हुन्छन् । नेपालमा निकै कम र भारतमा पनि केही मात्रामा मकुना भएको हात्ती विज्ञहरु बताउँछन् । यस्ता मकुना हात्तीहरु श्रीलंकामा भने प्रशस्त छन् । 

नेपालमा भारत हुँदै पूर्वी क्षेत्रमा मकुना आउने गरेको र तिनै मध्येको एउटा चितवनमा देखा परेको हात्ती विज्ञहरुको छ । गत वर्षको मंसिरमा मकुना चितवन कुमरोजमा देखा परेको थियो । यो वर्षको असोजदेखि मकुना निकुञ्ज आडको बस्ती सौराहा कुमरोज क्षेत्रमा देखा परेको थियो । 


प्रतिक्रिया