सिड समितिले दिएको निष्कर्ष र सुझावहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री सुडी

फाल्गुन १५, २०८१ | काठमाडौं
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी सिड कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जेनेभामा फेब्रुअरी ३–५ सम्म भएको सिडको ९० औं सत्रमा नेपालको तर्फबाट ३ वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । सिडमा प्रतिवेदन प्रस्तुत गरिसकेपछि आज महिला, कानुन र विकास मञ्च ९एफडब्लुएलडी र इक्युलिटी नाउले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सुडीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
सरकारको तर्फबाट मन्त्री सुडी, नागरिक समाज सञ्जालको तर्फबाट एफडब्लुएलडीले छायाँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मन्त्री सुडीले सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधै तत्पर छ र जवाफदेही रहेको बताउनुभयो । सरकारलाई सिड समितिले दिएको निष्कर्ष सुझावहरु कार्यान्वयन गर्न तयार रहेको बताउँदै मन्त्री सुडीले महिला अधिकार महासन्धीको ९० औ सत्रमा उठाएको विषय र नेपालको ७ औ आवधिक प्रतिवेदनमाथि सिड समितिले प्रदान गरेको निष्कर्ष र यसमा एफडब्लुएलडीले खेलेको भूमिकाकाप्रति धन्यवाद दिनुभयो।

कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सिड कमिटीमा पुरक प्रतिवेदनमा महिलाका धेरै विषयसमेटिएको बताउनुभयो । मानवअधिकार आयोगकी सदस्य डा. लिली थापाले सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन विगतभन्दा प्रगतिशील रहेको बताउनुभयो । यसपटक अन्तरलिंगी र यौनकर्मीका विषय पनि हाइटलाइट भएको उहाँको भनाई छ ।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नागरिक समाजको तर्फबाट तयार भएको सातौं आवधिक छायाँ प्रतिवेदनको तयारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । सिड कमिटीमा सहभागी लक्ष्मी नेपालले अपांगता भएका महिला र बालबालिकाको विषय प्रतिवेदनमा समेटिएकोमा खुशी व्यक्त गर्नुभयो ।
सिड बैठकमा सरोकारवाला मन्त्रालयको प्रतिनिधि सहभागी हुनुपर्ने बताउँदै सरोकारवाला मन्त्रालयका प्रतिनिधि सहभागी नहुँदा बैठकमा नेपालका सहभागितामा तालमेल नमिलेजस्तो देखिएको प्रभाकर श्रेष्ठले बताउनुभयो । ८६ हजार यौनकर्मीको भावना सिड कमिटीमा प्रस्तुत प्रतिवेदनमा समेटिएको स्वासाकी शान्ति तिवारीको भनाई छ ।