यात्रु अलपत्र परेको घटनाबारे नेवानीले छानविन गर्ने

फाल्गुन १५, २०८१ | काठमाडौं
नेपाल वायुसेवा निगमले एक सातायता नियमित उडान नहुँदा सयौं यात्रु अलपत्र परेको घटनाबारे छानविन गर्ने भएको छ ।
निगमका तीनवटा जहाज ग्राउन्डेड भई यात्रु अलपत्र परेको घटनामा छानबिन गर्न तीन सदस्यीय समिति बनाइएको निगमले जनाएको छ । यसैबीच, निगमले प्राविधिक समस्याका कारण सिर्जना भएको परिस्थितिमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । रोकिएका यात्रुलाई अर्को टिकटको व्यवस्था नभएसम्म निगमकै खर्चमा होटलबास सुविधा दिने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तीनवटा जहाज ‘ग्राउन्डेड’ हुँदा मुम्बई, क्वालालम्पुर, दोहा, लगायत आधा दर्जन गन्तव्यका लागि तय भएको उडान अन्तिम समयमा रद्द गरिएका छन् । जसका कारण करिब २ हजार यात्रु अलपत्र परेको बताइन्छ । माघमा फाइभ सी–चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक सातादेखि उतै रोकिएको छ ।
निगमले अर्को लुम्बिनी न्यारो–बडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको निगमले जनाएको छ । आन्तरिक उडानतर्फ दुई महिनादेखि निगमले कुनै पनि उडान गरेको छैन । उसका दुवै ट्विनअटर बिग्रिएर ग्राउन्डेड छन् । निगम व्यवस्थापनले बिग्रिएकामध्ये एउटा जहाज आगामी मंगलबारदेखि उडानमा ल्याइने दाबी गरेको छ ।