चितवनका दुई क्याम्पसमा मात्रै स्ववियुको मतदान

चैत्र ५, २०८१ | चितवन
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त चितवनका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भईरहेको छ । जिल्लाका १७ क्याम्पसमा मतदान हुनु पर्नेमा दुई वटामा मात्रै मतदान सुरु भएको छ ।
एउटा क्याम्पसमा भएको मतदान प्रति एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)ले विरोध जनाएको छ । चितवनमा यसअघि नै एउटा क्याम्पसमा स्ववियुको सर्वसम्मत समिति घोषणा भइसकेको छ ।
कार्यतालिका अनुसार आज तीन आंगिक र सम्बन्धन प्राप्त १४ वटा क्याम्पसमा चुनाव हुनुपर्ने थियो । तर, आंगिक क्याम्पस रामपुरको चितवन इन्जिनियरिङ क्याम्पस र सम्बन्धन प्राप्त शारदानगरको शहिद स्मारक कलेजमा मात्रै मतदान भएको छ । शारदानगरको कलेजको मतदान प्रकृया प्रति एमाले अखिलको क्याम्पस समिति र जिल्ला समितिले विरोध जनाउँदै विज्ञप्ति निकालेका छन् ।
‘हाम्रा उम्मेद्वारहरुलाई मतदान पूर्वका कुनै पनि प्रकृयामा सामेल नगराई मतदान अगाडि बढाएकोमा हाम्रो गम्भीर आपत्ति रहेको जानकारी गराउ“छौं’, अखिलको कलेज समितिका अध्यक्ष राकेश गुरुङले निकालेको विज्ञप्तिमा भनिएको छ ।
अखिलका चितवन जिल्ला अध्यक्ष हरि आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै तत्काल विद्यार्थी संगठनहरुसँग छलफल गरेर मतदान पूर्वका प्रकृया थालनी गर्न माग गर्नुभयो ।
त्ससैगरी वीरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु गठन भएको घोषणा गत फागुन २७ मै भइसकेको छ । चितवनका निर्वाचन हुनुपर्ने बाँकी कलेजहरुमध्ये चार वटामा मनोनयन नै दायर भएको थिएन ।
११ वटा कलेजमा विभिन्न विद्यार्थी संगठनहरुको तालाबन्दीले गर्दा मनोनयन भए पनि आज हुनुपर्ने मततदान हुन नसकेको हो । नारायणगढ, भरतपुर र रत्ननगरका पुराना र ठूला क्याम्प्स लगायतमा मतदान भएन ।