आन्दोलनरत शिक्षकलाई वर्तामा आउन सरकारको आह्वान

वैशाख १२, २०८२ | काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको छ ।
काठमाण्डौं केन्द्रीत आन्दोलन जारी राखेका शिक्षकहरुलाई मन्त्रालयले चौथो पटक वार्ताका लागि आह्वान गरेको हो । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तद्वारा जारी विज्ञप्तीमा संसदमा पेश भई छलफलको प्रक्रियामा रहेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने आन्दोलनरत शिक्षकको मागप्रति आफ्नो पनि ध्यानाकर्षण भएको उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको विज्ञप्तीमा उल्लेख छ । शिक्षकहरु २४ दिनदेखि काठमाण्डौं केन्द्रीत आन्दोलनमा छन् । यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा हिजो अन्तरिम आदेश जारी गरेको थियो ।