चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध

असार १, २०८२ | काठमाडौं

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने कोदारी सडकखण्ड अवरुद्ध भएको छ ।

 भोटेकोशी–२ का वडा अध्यक्ष कुमार श्रेष्ठका अनुुसार बिहान कोदारी सडक भास्सिएर यातायात अवरुद्ध भएको हो । गएरातिदेखिको निरन्तर वर्षाका कारण सडकको संरचना कमजोर बनेर भास्सिएको उहाँको भना छ । 

सडक भास्सिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी तथा दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापार बर्खाअघि दुईपटक अवरुद्व भएको थियोे । यसअघि अविरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो । सडक भासिएपछि नाका पूर्णरुपमा बन्द भएको थियो ।

 स्थानीय प्रशासनले तत्कालीन रुपमा सडक अवरुद्ध भएको भन्दै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ । घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकनपश्चात् पुनःनिर्माण कार्य सुरु गरिने प्रशासनले जनाएको छ ।  


प्रतिक्रिया