सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलीदेखि काठमाडौंमा शुरु हुँदै

असार १, २०८२ | काठमाडौं
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलीदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।
भोलीदेखि असार ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ । कट बनाउने शीर्ष २१ प्रोफेसनल खेलाडीहरू तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने छन् ।
चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । साथै प्रतियोगितामा १८ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते प्रो–एम प्रतियोगिता हुनेछ ।