त्रिविमा आफ्ना माग पुरा गर्न विद्यार्थी र प्राध्यापकबीच तालाबन्दी गर्न होडबाजी

असार १, २०८२ | काठमाडौं
त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले दुई साताभन्दा बढी समयदेखि गरेको तालाबन्दी जारी रहेका बेला आंशिक प्राध्यापकले पुनः तालाबन्दी गरेका छन् ।
त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा तालाबन्दी गरिएको हो । तालाबन्दी भइरहेको अवस्थामा आंशिक प्राध्यापकले आज गरेको थप तालाबन्दीले विश्वविद्यालय बन्धक बनेको छ ।
त्रिविले फास्ट ट्रर्याक विधिबाट विद्यावारिधि गरेर अनुसन्धानमा सक्रियलाई अन्र्तवार्र्ताबाट उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । सो प्रक्रियामा असन्तुष्टि जनाउँदै आंशिक प्राध्यापकका अध्यक्ष गोकुल लेछवी लिम्बू, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापालगायतले तालाबन्दी गरेका हुन् । अहिलेसम्म अभ्यास नै नभएको फास्ट ट्रर्याकबाट नातागोता र आफन्तलाई अध्यापक नियुक्त गर्न लागिएको आंशिक प्राध्यापकको आरोप छ ।
त्रिवि कार्यकारी परिषद्को सिफारिसमा सेवा आयोगले १ सय २० जना प्राध्यापक फास्ट ट्रर्याकबाट नियुक्त गर्ने विज्ञापन जेठ अन्तिम साता प्रकाशित गरेको थियो । त्रिविले विश्वविद्यालय अनुदान आयोगमार्फत २०७६ र २०७८ मा पनि सो विधिबाट केही सहप्राध्यापक, प्राध्यापक नियुक्त गरेको थियो । अनुसन्धानमा पोख्त जनशक्तिलाई विश्वविद्यालय सेवामा भित्र्याउन सो विधि तय गरिएको उपकुलपति खड्ग केसीले बताउनुभयो ।