कामपा नगर प्रहरी प्रमुख पाण्डेको पक्षमा उच्च अदालत पाटनको अन्तरीम आदेश

असार ४, २०८२ | काठमाडौं
उच्च अदालत पाटनले काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि गरिएको निलम्बन तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको माग दाबी अनुसार सो आदेश दिएको हो ।
सो आदेशपछि पाण्डेलाई अब नियमित काममा फर्कनका लागि बाटो खुला भएको उच्च आदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो । योसँगै नगर प्रहरी प्रमुख पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नहुने भएको छ ।
गत चैत २१ कार्यालय प्रवेशमा रोक लगाउन खोजेको भन्दै प्रशासकीय अधिकृत गुरागाईंको तर्फबाट पाण्डेलाई जेठ ६ गते ७ बुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफमा पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै जेठ २० मा ६ महिनाका लागि निलम्बन गरिएको थियो ।