रुसमा हजारौँ सैन्य कर्मचारी पठाउने उत्तर कोरियाको तयारी

असार ४, २०८२ | काठमाडौं
उत्तर कोरियाले रुसको युद्धग्रस्त क्षेत्रमा पुनसंरचना गर्न हजारौँ सैन्य कर्मचारी पठाउने निर्णय गरेको छ । युक्रेनले महिनौँ कब्जा गरेको कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिक परिचालन गर्न लागेको हो । रुसी सुरक्षा परिषद्का अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले सहयोगका लागि भन्दै ६ हजार सैन्य कर्मचारीहरु पठाउन लाग्नुभएको हो ।
उत्तर कोरियाले रुसी भूभागमा ल्यान्डमाइन हटाउन १ हजार इञ्जिनियरहरू र युक्रेनी आक्रमणमा नष्ट भएको पूर्वाधार पुनर्निर्माण गर्न ५ हजार निर्माण कामदारहरू पठाउने तयारी गरेको हो । यसका लागि रुसका परिषद सचिवले राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सन्देश लिएर नेता किमसँग सुरक्षाका विषयमा मुख्य छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरिया र रुसको बढ्दो यो पछिल्लो कदमले रणनीतिक निकटताको गहिरो सम्बन्धलाई प्रतिबिम्ब गरेको छ भने दक्षिण कोरिया र अमेरिकामा संशय बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।