खानेपानी वितरण कार्य नियमित नहुँदा सर्वसाधारण मर्कामा

असार ४, २०८२

काठमाडौं उपत्यकामा खानेपानी वितरण कार्यमा मेलम्ची खानेपानी आयोजना र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडबीच समन्वय नहुँदा सर्वसाधारण पानीबाट बञ्चित भएका छन् । मेलम्ची खानेपानी आयोजनाले खानेपानी प्रशोधन कार्यमा कुनै समस्या नभएको दाबी गरेपनि वितरणको जिम्मा पाएको काठमाण्डौं उपत्यकामा खानेपानी वितरण जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तालिका अनुसार नियमित वितरण गर्न नसक्दा सर्वसाधारण मर्कामा परेका हुन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक इन्जिनियर रत्न प्रसाद लामिछानेले अहिलेसम्म प्रशोधन केन्द्रमा कुनै समस्या नरहेको बताउनुभयो ।

यता खानेपानी वितरणको जिम्मा पाएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले भने पानी प्रशोधन केन्द्रमा समस्या भएकाले पानी वितरण कार्य नियमित गर्न नसकेको जनाएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले वर्षायाम शुरु भएसँगै प्रशोधन केन्द्रमा समस्या आउने गरेको बताउनुभयो ।

काठमाण्डौं उपत्यकामा खानेपानीको वितरण तालिका सार्वजनिक गरेपनि तालिका अनुसार धेरै स्थानमा समानुपातिक रुपमा पानी वितरण हुन नसकेको सर्वसाधारणको गुनासो छ । आयोजनाका कार्यकारी निर्देशक इन्जिनियर रत्न प्रसाद लामिछानेले भने तालिकाको दिन पानी वितरणका लागि प्रशोधन केन्द्रमा आवश्यक पानी हुने गरेको दाबी गर्नुभयो । काठमाडौंमा दैनिक २० करोड लिटर सप्लाई भएको उहाँको भनाइ छ । पानी वितरण कार्य नियमित हुन नसकेको अवस्थामा खानेपानी मन्त्री प्रदिप यादवले भने मनसुनको समय पनि काठमाडौंबासीलाई खानेपानी नियमित वितरण गर्ने दाबी गर्नुभएको छ । 


प्रतिक्रिया