सालकको खपटासहित चितवनको टिकौलीबाट पाँच पक्राउ

असार ३१, २०८२ | चितवन
दुर्लभ वन्यजन्तु सालकको खपटासहित चितवनको टिकौलीबाट पाँच जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका व्यक्तिको विवरण भने निकुञ्ज कार्यालयले खुलाएको छैन । तीन वटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले बताउनुभयो ।
सालको खपटा ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा रत्ननगर नगरपालिका–९ टिकौली वन नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो ।
सालक संरक्षित जीव हो । निकै दुर्लभ हुँदै गएको सालकको शरीरको स्वरुप न्याउरी मुसाको जस्तो देखिन्छ । सालकको जिउ गोलाकार खालका कडा खाले कत्ला अर्थात् खपटाले ढाकिएको हुन्छ । यही खपटाका लागि अवैध रुपमा सालक मार्ने गरिन्छ ।
सालक संरक्षित जीवमा पर्ने हुँदा यसको अवैध सिकार र गैरकानुनी व्यपार तथा ओसारपसार गर्नेलाई एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवना या एक वर्षदेखि १० वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।