खाद्यान्नमा आत्मनिर्भर कालीकोटको चिल्खाया गाउँ

कार्तिक ७, २०७५ | कालीकोट

पर्याप्त सिंचाई सुबिधा र समथर जमिन भएको चिल्खाया गॉउ कालीकोटमै खाद्यान्न उत्पादनमा आत्मनिर्भर छ । जिल्लाको पताला क्षेत्र लगायतका गाउँबस्तीमा वर्षेनी खाद्य संकट हुने भएपनि तिलागुफा नगरपालिकाको ९, १० र ११ नं वडा मा पर्ने साविकको चिल्खाया गाविसका बासिन्दाले मार्सी धान, चामल बेच्ने गरेका छन् ।

गाउँ बाहिरबाट चामल खरिद गरेर कहिल्यै ल्याउनु नपरेको चिल्खायाका पूर्व गाविस अध्यक्ष पार्थीमल खत्रीले बताउनुभयो । उहाँले चिल्खायामा उत्पादन हुने धान चामल गाउँ बाहिर बेच्ने गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार गाविसको माथिल्लो भाग वडा नं ६ र ७ पर्ने रुरुमा धान उत्पादन नहुने भएपनि जौ, आलु, सिमी प्रशस्त उत्पादन हुने, भेडाबाख्रा पाल्ने, जडीबुटी संकलन गर्ने हु‘दा वस्तु विनिमय गरेर धान चामलसँग जौ, आलु, जडीबुटी साट्ने गरेको जानकारी दिनुभयो ।

अध्यक्ष खत्रीले चिल्खायाको खेतबाटै ५० बोरा धान उत्पादन गर्छन् । चिल्खायालाई कालीकोटको तराई पनि भन्ने गरिएको छ । त्यस्तै, धेरै धान उत्पादन गर्नेमा वडा नं १ का विश्वेश्वर उपाध्यायले ६० बोरा, प्यारी उपाध्यायले ४५ बोरा धान उत्पादन गर्छन् ।

चिल्खाया गाउँमा त दलित समुदायका ब्यक्तिहरुले पनि  १०–१२ बोरा उत्पादन गर्ने दलित अगुवा बिर्खबहादुर सुनारले बताउनुभयो । उहाँकाअनुसार चिल्खायाका बासिन्दालाई आफ्नै उत्पादनले बिहान बेलुकी भात खान पुग्छ । गाउँमा कम उत्पादन हुनेले पनि त्यही खरिद गर्न पाउने अवस्था छ ।

यहाँको ढिम्ने गाउँमा गहँुको बीउ खरिद गर्न छिमेकी गाविस जुविथा, राचुलीसहित जुम्लाबाट समेत आउने गरेको स्थानीय कृषक भीमबहादुर शाहीले बताए । गाउँमै धान कुट्न र गहुँ पिस्न विश्वामित्र ढकालले डेढ लाख लगानी गरी चार वर्षअघि गाउँमै निजी कुटानी पिसानी मिल पनि हालेका छन् ।

जिल्लाका प्राय सबै गाउँ दिनहुँजसो चामलको लागि स्थानीयहरु बजार केन्द्रका पसल तथा खाद्य डिपोमा आउने गरेका भएपनि चिल्खायाबाट चामल खोज्न कोही नआएको खाद्य ब्यापारी राजकुमार चौलागाईले बताउनुभयो ।

जिल्ला खाद्यको रेकर्डअनुसार पनि जिल्ला सदरमुकाम मान्ममा चिल्खायाबाट चामल लिन कोही आएका छैनन् । चिल्खायाको रुरु गाउँ बाहेक चिल्खायाको फाटसहित कामखेत, ढिम्ने, रानाबाडा र थाम्खेत सबैमा धान बाली प्रमुख अन्नका रुपमा रहेको तिलागुफा नगरपालिका प्रमुख रतनवहादुर शाहीले बताउनुभयो ।

उहाँले चिल्खायालाई जिल्ला कृषि ज्ञान केन्द्रले पनि खाद्यान्न उत्पादनका लागि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यहॉको खाद्य उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषक अनुदान सहित विशेष योजना निर्माण गगरेर कार्यान्वयनको गर्न थालेको नगर प्रमुख शाहीको दाबी छ । उहाँले तिलगुफा नगरपालिकालाई फलफूल र खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

चिल्खायामा पशुपालन, बेसार खेती, ब्यवसायिक तरकारी खेती, अल्लो प्रशोधन, जडीबुटी प्रशोधन, जडीबुटी चिया उत्पादन जस्ता क्रियापलाप संचालन गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।

‘प्रशस्त वन जंगल भएकोले भैंसी, भेडा बाख्रा पालनमा कृषकलाई उत्प्रेरित गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ । चिल्खाया जिल्लामै घोडा र भेडा बढी पालिने गाउँ पनि हो । चिल्खाया गाउँमा मात्र १ सय ५० जति घोडाघोडी र ५ हजार भेडाभेडी छन् । वरिपरि जंगलले घेरिएको चिल्खायाको फॉटमा तीन चार पुस्ताअघि देखि १३ किलोमिटर टाढा बन्चु खोलाबाट ल्याइएको दुई वटा ठूल ठूला सिंचाई कूलाहरु संचालनमा छन् ।

सदरमुकाम मान्मबाट १७ कोस पूर्व दक्षिण दैलेख र र जाजरकोटसग सिमाना जोडिएको चिल्खाया गाविस पशुपालन, जडीबुटी र पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित छ । राडीपाखी, पशुपालन, बहुमुल्य जडीबुटी, बन्चुको पाटन, बाइस धारा, शिवालय लगायतका पर्यटकीय क्षेत्र पनि चिल्खायामा छन् । बहुमूल्य बुटी यार्सागुम्बा यतैको पाटनमा पाइन्छ । 

पशुपालन, खाद्यान्न उत्पादन, ब्यापार ब्यवसाय गर्ने यहाँका अधिकांश बासिन्दाले बाकेको कोहलपुर, बर्दिया, सुर्खेत लगायतका ठाउँमा घरजग्गा पनि जोडेका छन् । धान कम उत्पादन हुने रुरु गाउँका २३ जनाले त चिल्खाया गाउँमा धान खेत खरिद गरेका पूर्व गाविस उपाध्यक्ष तथा रुरु गाउँका स्थानीय गगनबहादुर थापाले जानकारी दिए । १ सय ३७ दलित र ६ सय अन्य जाति गरी ७ सय ३७ घरधुरी रहेको चिल्खायाको कुल जनसंख्या ४ हजार ६ सय ७५ रहेको छ ।  


प्रतिक्रिया