बर्डफ्लु भेटिएको हेटौंडा क्षेत्रमा कुखरा नष्ट गर्दै

चैत्र २, २०७५ | हेटौंडा

मकवानपुरमा बर्डफ्लु भेटिएको क्षेत्रमा शनिबारदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका क्षेत्रका कुखुराहरु नष्ट गर्न सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरुसँग क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटाएर कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको टोलीका प्रमुख डा. रामकुमार कार्कीले बताउनुभयो ।

शनिबार अपराह्न सम्म ८ वटा खोरका १० हजार कुखुरा नष्ट गरेर सुरक्षित स्थानमा गाडेको उहाँले बताउनुभयो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यस क्षेत्रमा कुखरा नष्ट गरिरहेका छन् । विज्ञहरुले बासुदेव कटुवालको डेनिसा पोल्ट्री फर्ममा रहेको कुखुरा पहिलो नष्ट गरेका थिए ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुुख डा. चेतनारायण खरेलका अनुसार बर्डफ्लुबाट संक्रमण भएका कुखुराहरुको धमाधम नष्ट गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, सोमवारसम्म लाग्न सक्छ । तीनदिन लाग्छ कि भन्ने अनुमान गरेका छौं । रातको समयमा काम गर्न पाएको खण्डमा अझै छिट्टो सकिनेछ ।’

डा. खरेलका अनुसार किसानको खोरमा मारिएका कुखुरा किसानकै जग्गामा गाडिएको छ । उहाँले भन्नुभयो, ‘किसानका जग्गा नभएको खण्डमा सार्वजनिक जग्गामा गाडिनेछ । कुखुरा नष्ट गर्नु अगाडि कुखुराका गणना गरेर रेडर्क समेत राखिएको छ । ‘क्षतिपूर्ति उपलब्ध गराउनका लागि गणना गरिएको हो ।’

त्यसक्षेत्रका २८ वटा खोरका करीब ४१ हजार ५ सय  कुखुरा नष्ट हुने अनुमान गरिएको छ । २७ खोरमा लेयर्स र एउटा खोरमा वोइलर कुखुरा रहेका छन् । फागुनको पहिलो साता उक्त क्षेत्रमा धमाधम कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो ।

बर्डफ्लु भएको पुष्टि हुने बित्तिकै स्थानीय प्रशासनले चारकिल्ला तोकेर शिलबन्दी समेत गरेको थियो । बर्डफ्लु भेटिएको हेटौंडा–७, कमाने पूर्वमा हेटौंडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अग्राठे मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको थियो । उक्त क्षेत्रमा २०६९ साल साउनमा समेत बर्डफ्लु भेटिएको थियो । त्यस समयमा ११ हजार कुखुरा नष्ट गरिएको थियो ।


प्रतिक्रिया