कठैबरा करेला (फोटो फिचर)

तस्बिरहरु : रमेशकुमार पौडेल/कान्तिपुर ।  

असार १७, २०७७ | चितवन

करेला स्वादमा तितो भएपनि नेपालीको भान्सामा पाक्ने महत्वपूर्ण तरकारी हो । थोरै धेरै नगद आर्जन गर्ने उद्देश्यले चितवनको माडी नगरपालिका–८ कान्तिपुर गाउँकी बुद्धिसरा विकले तीन कट्ठा जग्गामा करेला लगाइन् । करेला उम्रन थाल्यो, हर्लक्क हुर्कियो । सँगसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशमा लकडाउन सुरु भयो । लकडाउनकै बीचमा पनि करेला मज्जाले हुर्किए, फूल्यो अनि फल पनि राम्रै लाग्यो ।

करेलाको झ्याङमा सर्लक्कका लामा लामा करेला फले । कुनै करेला त झण्डै एक हातकै भए । माडी जाने भरतपुर–माडी–ठोरी हुलाकी सडकले जब निकुञ्ज छुन्छ कालोपत्रे सकिएर ग्राभेल भएको बाटो सुरु हुन्छ । माडीमा दर्जनौं खहरे खोलाहरु छन् । एउटा खोलामा बाहेक अरुमा पुल बनाउन भर्खर सुरु भएको छ ।

सामान्य बेलामा पनि सदरमुकाम भरतपुरबाट माडी पुग्न सहज छैन । बुद्धिसराको गाउँ पुग्न हुलाकी सडकबाट भित्र दुई किलोमिटर जति साँघुरो र कच्चीबाट जानु पर्दछ । लकडाउनका कारण सहज रुपमा गाडी चलेनन् । चलेका गाडीहरु पनि तरकारी खोज्दै टाढा गएनन् । भरतपुर नारायणगढ आसपासकै खेतमा तरकारी बिग्रेर नोक्सान भयो । माडीमा बुद्धिसराको बारीमा झन को पुग्नु ।

करेला बारीमै छिप्पियो । हरियो करेलामा रंग चढ्दै आयो । पहेँलो हुँदै करेला रातो भयो । कसैले नहेरेको नटिपेको करेला पाक्दै गएर फुट्न थाल्यो । झनै गाढा रातो बियाँ छरपष्ट हुन थाले । बुद्धिसराको बारीमा अहिले करेलाको झार ओइलाउन सुरु भएको छ । 

मान्छेको पाइला नपरेको बारीमा घाँस पनि हर्लक्क बढेको छ । हरियो र रातो करेला हेर्दा बिजोग देखिन्छ । कान्तिपुर गाउँमा दलित समुदायको बाक्लो बसोबास छ । गाउँमा सामूहिक खेती पनि सुरु भएको छ । सहकारीले व्यवसायिक तरकारी खेतीमा जुट्न स्थानीयलाई प्रोत्साहित गरेको छ । त्यसैका कारण बुद्धिसरा अगाडि बढिन् । तर, समयले उनलाई नराम्ररी धोका दियो ।


प्रतिक्रिया