पुष्पासँग अञ्जली, सँगै भए गैंडाका दुई टुहुरा (फोटोहरु)

तस्बिरहरु : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर । 

चैत्र २८, २०७७ | चितवन

एउटाको नाम पुष्पा, अर्कोको अञ्जली । मिलाएर बोलाउँदा पुष्पाञ्जली । नाम फरक, उमेर फरक भए पनि दुबैको कथा दुरुस्तै मिल्छ । यी दुबै माउबाट बिछोडिएका गैंडाका निकै साना बच्चा हुन् । माउबाट छुट्टिएका यी बचेराहरुले अहिले सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय हाताभित्र मान्छेको स्याहार पाएका छन् । 

एउटाको १५ महिनाअघि उद्धार भएको हो । अर्को बच्चा गैंडा भर्खर आएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, ‘चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र आइल्याणमा गैंडा गणनाका क्रममा एउटा सानो बच्चा गैंडा भेटियो । लामो समय हेर्दा पनि त्यसलाई दिन कुनै माउ गैंडा आएन । बच्चा वरपर माउ गैंडा नभेटिएपछि उद्धार गर्नु पर्‍यो ।’ चैत्र २५ गते बिहीबार उद्धार गरेर त्यो बच्चा गैंडा अर्थात केटोलाई सौराहा ल्याइएको हो । भेटिएका बेला बच्चा निकै थकित र भोकाएको झै थियो । 

प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो, ‘जन्मेको हप्ता दिन नहुँदै माउबाट बिछोड भएको झै लाग्यो । दुई दिनदेखि केही खान नपाएको झै देखिन्थ्यो । गणनाको टोलीले धेरै पर परसम्म हेर्दा पनि माउको मेसो पाएन । तै पनि कतैबाछ आउँछ र बच्चा लैजान्छ कि भनेर दिनभर कुरेर बस्यौं । माउ नआएपछि उद्धार गर्नु पर्‍यो ।’ 

सौराहा आएपछि यसको स्याहारमा अहिले कोषका कर्मचारी लालबहादुर महरा खटिरहेका छन् । सानो बच्चालाई दूध मात्र खुवाउनु पर्दछ । सानो भएपनि कुद्न चकचक गर्न कम छन । त्यसैले लालबहादुरले चनाखो भएर यसको गतिविधि नियाल्नु परिरहेको छ । १५ महिनादखि उनले अर्को यस्तै बच्चा गैंडाको स्याहार गर्दै आएका छन् । ७६ सालको पुसमा निकुञ्जको पश्चिम क्षेत्रबाटै उसको उद्धार भएको थियो ।

त्यसलाई पनि माउले नै छाडेको थियो । ‘७६ सालको पुसमा ल्याउँदा त्यो पनि यही जस्तै थियो । पुसमा ल्याएको हुनाले पुष्पा नाम राख्यौं । अहिले फेरि उस्तै कारणले अर्को उत्रै उमेरको बच्चा उद्धार गरेर ल्याउनु पर्‍यो । पुष्पासँग मिल्ने अञ्जली नाम राख्यौं । पुष्पाञ्जली भन्न पनि पाइयो’ लालबहादुरले भने । 

सुरु सुरुमा दूध मात्र खाने गैंडाको बच्चाले विस्तारै गाजर, मुला, बन्दा खान थाल्छ । अनि ठूलो भएपछि कुँडो पनि खुवाउनु पर्दछ । जंगलमा तीन वर्षको हुँदासम्म गैंडाका बच्चा आमासँगै हिँड्छन् । त्यो बेलासम्म दूध पनि चुस्दै गर्दछन् । तर जन्मेको तीन चार दिन पनि नहुँदै आमासँग बिछोड भएका यी बच्चाहरु हुर्केपछि जंगलमै छाड्ने गरिन्छ ।

निकुञ्जसँग मिलेर उद्धार र स्याहारको काम राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयले गर्दै आएको छ । डेढ दुई वर्षको अन्तरालमा यस्ता टुहुराहरु भेटिने र उद्धार हुने गरेको कोषको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछाने बताउनुभयो । अहिलेसम्म बच्चा गैंडा २० वटाको उद्धार भएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया