रौतहटमा हतियारधारी समूहद्वारा लुटपाट, दुई जना घाइते

हतियारधारी समूहको आक्रमणबाट भाइते भएकी रौतहटको गरुडा नगरपालिका–७ पिपरियाकी ४५ वर्षीय चम्पादेवी ।  

आश्विन २३, २०७८ | रौतहट

हतियारधारी समूहले रौतहटको गरुडा नगरपालिका–७ पिपरिया टोलमा शनिबार लुटपाट गरेका छन् । १०/११ जनाको समूहमा आएका उनीहरुले गरुडा–७ पिपरियाका रामईश्वर यादवको घरका सदस्यहरुमाथि आक्रमण गरी नगद तथा गरगहना लुटेर भागेका हुन् । 

सो समूहले घरमुली ४५ वर्षीय चम्पादेवी र उनका छोरा २५ वर्षीय पवन यादवमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले बताउनुभयो । घाइतेलाई गरुडाकै अनमिनाका अस्पतालमा उपचार गराईएको थियो । 

‘हतियारधारी समूहको पहिचान गर्न विभिन्न स्थानमा टोली परिचालन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘चाँडै नै घट्नामा संलग्नलाई पक्राउ गर्छौँ ।’ प्रहरीका अनुसार चम्पादेवीको टाउकोमा गहिरो चोट लागेको छ । उनका छोरा पवनलाई थप उपचारको लागि वीरगञ्ज पठाईएको डीएसपी भण्डारीले बताउनुभयो । 

घरधनी यादवले केही दिन अघि मात्र जग्गा बेचेर राखेको नगद ३ लाख रुपैयाँ तथा सुनका गहना ३ तोला पनि लुटेर लगेको प्रहरी समक्ष बताएका छन् । चाडपर्व नजिकिंदै गर्दा जिल्लामा लुटपाटका घट्नाहरु हुने गरेको छ । 

एक महिना अघि भदौ २१ गते मध्य राति डेढ महिनाको नवजात शिशुलाई नियन्त्रणमा लिई कन्चडमा पेस्तोल राखेर हतियारधारी समूहले दुर्गा भगवती गाउँपालिकास्थित मत्सरी गाउँका सरोजानन्द झाको घरमा लुटपाट गरेको थियो । सो समूहले नगद, गरगहना गरी ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमान लुटेको थियो । घट्नामा संलग्न भएको आरोप लागेका केही पक्राउ परेको थियो । 


प्रतिक्रिया