अमेरिकामा २४ घण्टाको अवधिमा १० हजार संक्रमित थपिए

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०७६ | एजेन्सी

अमेरिकामा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेको छ । विभिन्न राज्यमा २४ घण्टाको अवधिमा १० हजार नयाँ संक्रमित भेटिएका छन् । योसंगै कुल संक्रमतिको संख्या अमेरिकामा ७० हजार नजिक पुगेको छ । 

जसमध्ये १ हजार बढीको मृत्यु भएको छ । इटाली र चीनपछि सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा देखिएको छ । सबैभन्दा बढि संक्रमण भेटिएको न्युयोर्कमा सार्वजनिक स्थानमा भिडभाड नगर्न अपिल गरिएको छ । यद्यपी समुन्द्री तट, खेल कार्यक्रम, रेष्टुरेन्ट, पब अझैपनि खुला रहेका कारण भाइरसको संक्रमण फैलने क्रम तिव्र भएको आंशका गरिएको छ । 

अहिले संक्रमणको केन्द्रविन्दु रहेको इटलीमा संक्रमितको संख्या ७४ हजार ३ सय ८६ पुगेको छ । जसमध्ये ७ हजार ५ सयको मृत्यु भएको छ । 

स्पेनमा पनि संक्रमणका कारण मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ । स्पेनमा हालसम्म ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा मात्रै त्यहा ७ सय ३८ जनाले ज्यान गुमाए । हालसम्म ४९ हजार ५ सय १५ जनामा संक्रमण पुष्टी भएको छ ।

 जर्मनीमा ३७ हजार ३ सय २३ जनामा संक्रमण पुष्टी भइसकेको छ, जसमध्ये २ सय ६ जनाको मृत्यु भएको छ । 

 यस्तै, इरानमा २७ हजार बढीमा संक्रमण पुष्टी भएको छ भने २ हजार ७७ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा संक्रमितको संख्या २५ हजार ६ सय र मृत्यु हुनेको संख्या १ हजार ३ सय ३१ पुगेको छ । स्वीट्जरल्याण्डमा १० हजार ८ सय ९७ जनामा संक्रमण पुष्टी भएको छ ।

बेलायतमा हालसम्म ९ हजार ५ सय जनामा संक्रमण पुष्टी भएको छ । मृत्यु हुनेको संख्या ४ सय ६५ पुगेको छ । बेलायतमा संक्रमण विरुद्धको अभियानमा ५ लाख ६० हजार स्वयंसेवक खटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फिलिपिन्समा कोरोना संक्रमणबाट ९ जना चिकित्सकको मृत्यु भएको छ । संक्रमण शुरु भएको चीनको हुवेईमा भने नयाँ संक्रमित नथपिएको बीबीसीले उल्लेख गरेको छ ।

संक्रमण न्यूनीकरणका लागि भन्दै इरानले देशभित्रै आवतजावतमा रोक लगाएको छ । रसियाले भोलिदेखि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान रद्ध गर्ने घोषणा गरेको छ ।

संक्रमणबाट विश्वभर हालसम्म २१ हजार ३ सय १३ जनाको मृत्यु भएको छ भने ४ लाख ७२ हजार ७ सय ९० जनामा संक्रमण पुष्टी भएको छ । १ लाख १४ हजार ९ सय ११ जना पूर्ण रुपमा निको भएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघकामहासचिव एन्टोनियो गुटेरसले कम विकसित मुलुकको सहयोगार्थ अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि २ खर्ब डलर बराबर कोषका लागि अपिल गर्नुभएको छ ।


प्रतिक्रिया