आईपीएल क्रिकेटको फाइनलमा गुजरात र चेन्नई भिड्ने

जेष्ठ १३, २०८० | काठमाडौं

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनल प्रवेश गर्‍यो । पहिलो क्वालिफायरमा चेन्नईसँग हार व्यहोरेको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बाईलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो । २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई १८ दशमलव २ ओभरमा आलआउट हुँदै १ सय ७१ रनमा समेटियो । 

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६१ रन जोड्नु बाहेक अन्यले रोम्रो स्कोर जोड्न सकेनन् । गुजरातका मोहित शर्माले सर्वाधिक ५ विकेट लिए । यस्तै, मोहम्मद शामी र राशिद खानले समान २/२ तथा जोशुवा लिटिलले एक विकेट हात पारे ।

त्यसअघि मुम्बाईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । गुजरातका शुभमन गिलले १ सय २९ रनको शतकीय इनिङ्स खेले । 

उनको यो जारी सिजनको तेस्रो र आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो । यस्तै, साई सुदर्शनले ४३ रन जोडे । दोस्रो विकेटका लागि गिल र सुदर्शनले १ सय ३८ रनको शतकीय साझेदारी गरे । आईपीएल क्रिकेटको फाइनल खेल भोली हुनेछ ।


प्रतिक्रिया