ए लिगमा आज चर्च ब्वाइज र जावलाखेल भिड्ने

जेष्ठ २०, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । शीर्ष स्थानको चर्च ब्वाइज १२ औं जित निकाल्ने योजनामा छ । २३ खेल खेलेको उसको ४१ अंक छ । जावलाखेल ११ औं जितको खोजीमा हुनेछ । ३७ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ ।

यसअघि दशरथ रंगशालामै दिउँसो ३ बजे हुने खेलमा थ्री स्टार क्लब र विभागीय टोली एपीएफ क्लब भिड्ने छन् । थ्री स्टार सातौं जितको खोजीमा हुँदा, एपीएफ नवौं जित निकाल्ने योजनामा छ । थ्री स्टार २७ अंक जोडेर ११ औं स्थानमा हुँदा, एपीएफ २९ जोडेर आठौं स्थानमा रहेको छ ।

यता, च्यासलस्थित मैदानमा दिउँसो ३ बजे नै हुने अर्को खेलमा विभायीय टोली त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ३० अंक जोडेर छैटौं स्थानमा रहेको आर्मी आज आठौं जित निकाल्न चाहन्छ । २९ अंक जोडेर नवौं स्थानमा रहेको सातदोबाटो आज नवौं जितको खोजीमा छ । 


प्रतिक्रिया