अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले हरायो

असार २, २०८१ | काठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजको सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट रंगशालामा स्कटल्याण्डले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । 

अस्ट्रेलियाका लागि ट्राभिस हेड र मार्कस स्टोइनिसले विस्फोटक ब्याटिङ गरे । स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५९ रन बनाए । 

त्यस्तै, ५ चौका र ४ छक्कासहित हेडले ४९ बलमा ६८ रन बनाए । स्कटल्यान्डका लागि मार्क वाट र सफ्यान सरिफले समान २÷२ विकेट लिँदा ब्राड ह्विलले १ विकेट हात पारे ।

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्यकमलेनले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङस् खेले । 

त्यस्तै, कप्तान रिची बेरिंगटनले नटआउट ४२ तथा जर्ज मुन्सेले ३५ रन बनाए । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ विकेट लिए भने एडम जाम्पा, नथान इलिस र र एस्टन एगरको नाममा समान १÷१ विकेट रह्यो ।

योसँगै समूह ’बी’ बाट सुपर–८ मा प्रवेश गर्ने टिमको टुंगो लागेको छ । समूह ’बी’बाट अस्ट्रेलिया यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको थियो । 

अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएसँगै यस समूहबाट डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेको हो । समान ५ अंक भए पनि रनरेटका आधारमा अगाडि रहँदै इंग्ल्यान्ड अर्को चरणमा प्रवेश गरेको हो । योसँगै सुपर 'एट'मा प्रवेश गर्ने ७ टिमको टुंगो लागेको छ । 

नेपाल रहेको समूह ’डी’ बाट भने दक्षिण अफ्रिका सुपर 'एट'मा प्रवेश गरिसकेको छ । यस समूहबाट सुपर 'एट'मा प्रवेश गर्ने अर्को टिमको भने टुंगो लाग्न बाँकी छ ।


प्रतिक्रिया