पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

तस्बिर रोयटर्स 

असार ९, २०८१ | काठमाडौं

पोर्चुगल युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । डर्टमण्डमा गएराति भएको समूह ‘एफ’को खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । 

खेलको २१ औं मिनेटमा बर्नार्डो सिल्भाले गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । टर्कीका डिफेन्डर सामेत अकायदिनले खेलको २८ औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगलले अग्रता दोब्बर बनाएको थियो । 

खेलको दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोको पासलाई गोलमा परिणत गर्दै ब्रुनो फर्नान्डेजले पोर्चुगललाई ३–० को जित दिलाए । पोर्चुगल ६ अंकका साथ समूह ‘एफ’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूहको दोस्रो स्थानमा रहेको टर्कीको ३ अंक छ ।

यस्तै, गएराति नै भएको समूह ‘एफ’को खेलमा चेक गणतन्त्र र जर्जियाले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टिमको २ खेलबाट १÷१ अंक भएको छ । यो नतिजासँगै चेक गणतन्त्र र जर्जियाले नकआउट चरण पुग्ने सम्भावना भने कायमै राखेको छ । 

अब लिग चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगल तथा चेक गणतन्त्रले टर्कीको सामना गर्नेछ । यसैबीच, युरोकप अन्तर्गत आज राति समूह ‘ए’को जमर्नीले स्वीट्जरल्याण्डको सामना गर्दा सोही समूहको स्कटल्याण्डले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया