टी-२० विश्वकप क्रिकेटमा इण्डियासँग बंगलादेश ५० रनले पराजित

असार ९, २०८१ | काठमाडौं

इण्डिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । वेस्ट इन्डिजको सर भिभियन रिचर्ड्स स्टेडियममा गएराति भएको ‘सुपर एट’को समूह एकको आफ्नो दोस्रो खेलमा इण्डियाले बंगलादेशलाई ५० रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । 

जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाज्मुल होसेन शान्टोले सर्वाधिक ४० रनको योगदान दिए । 

तान्जिद होसेनले २९, ऋषाद होसेनले २४ रन जोडे । इण्डियाका कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान २–२ विकेट लिए । हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो ।

त्यसअघि बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको इण्डियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । इण्डियाको जितमा हार्दिक पाण्ड्याले अर्धशतक सहित अलराउन्ड प्रदर्शन गरे । 

पाण्ड्याले २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रनमा आउट भए । 

बंगलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले २/२ तथा शकिब अल होसेनले एक विकेट लिए । यस हारसँगै बंगलादेशको अघिल्लो चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । 


प्रतिक्रिया